समाचार

आज मातातीर्थ

१७ बैशाख २०७९, शनिबार ०२:३५
आज मातातीर्थ

१७ बैशाख, काठमाडौं।  जन्म, कर्म, संस्कार दिने आमाप्रति श्रद्धा प्रकट गर्न विश्वभर कुनै न कुनै विशेष दिन हुन्छ । नेपाली समाजमा आज (वैशाख कृष्ण औँसी) मातृविशेष दिन हो । हिन्दु संस्कारमा यस दिनलाई मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनका रुपमा मनाइन्छ ।

काठमाडौंको मातातीर्थमा आजकाे दिन विगतका वर्षहरुमा निकै ठूलाे भीड हुन्छ । किन त्यहाँ विशेष मेला लाग्छ त ? मुख्य दुई किंवदन्ती यस्ता छन्–

१‍. भगवान् विष्णुका सातौँ अवतारका रुपमा मर्यादापुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाले आक्रमण गरे । स्थानीयसँग श्रीरामको घमासान युद्ध भयो । युद्धले दुवै पक्ष आकुल–व्याकुल भए ।

त्यसैबेला सीताजीलाई प्यास लाग्यो । पानी खोज्दा कतै नभेटेपछि श्रीराम गंगामाताको स्तुति गर्न थाले । ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमिनमा वाण हानेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाइन् ।

ब्रह्माण्डको दर्शन पाउँदा उनको स्वरुप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो, र यो मूर्ति बन्यो । त्यो दिन वैशाख कृष्ण औँसी थियो । त्यसैबेलादेखि मातातीर्थ औँसीका दिन यो कुण्डमा स्नान गरी कुण्डमा रहेको मूर्तिमा आफ्नी दिवंगत आमाको दर्शन गर्ने प्रचलन रह्यो ।

२. घना जंगल भएकाले द्वापरयुगमा गोठालाहरु गाई चराउन मातातीर्थ आउँथे । एक दिन गोठालाहरु कुण्डनजिकै बसेर खाजा खाइरहेका थिए । अचानक एउटा गोठालोको रोटी कुण्डमा खस्यो । उसले खसेको रोटी हेर्दा कुण्डको पानीमा आमाको दर्शन पायो । त्यो दिन वैशाख कृष्ण औँसी थियो ।

घर फर्कने वेला गोठालोले एक्लै फर्किन मानेन र आमासँगै जाने इच्छा राख्यो । आमाले छोरालाई सम्झाउँदै भनिन्, ‘हामी मृत आमाहरुको दर्शन गर्न सधैँ वैशाख औँसीको दिन यो तीर्थमा आउनू, हामी त्यस दिन दर्शन दिन यहीँ आउँछौँ ।’ मातृआत्माको वास हुने परित्र स्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रह्यो, र हरेक साल मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्न थाल्यो ।

प्रतिक्रिया दिनुहोस्