राजनीति

गठबन्धनको निर्णयले झापामा ओली र लिङ्देनलाई फाइदा

१६ बैशाख २०७९, शुक्रबार ११:३४
गठबन्धनको निर्णयले झापामा ओली र लिङ्देनलाई फाइदा

१६ बैशाख, काठमाडौं। सत्तारुढ पाँच दल बाहेकका दलहरूसँग गरिएको चुनावी गठबन्धन खारेजीको निर्णयले एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई गृह जिल्ला झापामा फाइदा हुने देखिएको छ ।

 शुक्रबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँचदलीय बैठकले गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ ।

तर गठबन्धन बाहिरको चुनावी तालमेल खारेज नगरे सम्बन्धित दलले उनीहरूलाई तत्काल कारबाही गर्ने निर्णयसँगै दमकमा एमाले दह्रो हुने भएको छ । दमकमा एमालेले गीता अधिकारीलाई नगर प्रमुख र उपप्रमुखमा अम्बिका खनाललाई चुनावी मैदानमा उभ्याएको छ । अधिकारी यसअघिकी उपमेयर हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा पाँच दलीय गठबन्धनले राप्रपासँग तालमेल गरेर मेयर राप्रपालाई दिएको छ । त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका कचनकबलमा कांग्रेस र एमालेले तालमेल गरेका छन् ।

राप्रपाका राम थापालाई नगर प्रमुखको साझा उम्मेदवार उभ्याएर चुनावी मैदान होमिएको अवस्थामा स्थानीय नेताहरूले केन्द्रले गरेको निर्णय नमान्ने भन्दै गठबन्धन निरन्तरता दिने बताएका छन् ।

दमकमा दह्रो रहेको एमालेलाई हराउन राप्रपासँग पाँच दलले गठबन्धन गर्नुपर्ने हुन्छ । तर ओलीले आफ्नो प्रतिष्ठाको विषय मान्दै आएको स्थानमा गठबन्धनले निर्णय गरेरै उनलाई सहज बनाइदिएको छ ।

अहिले झापामा अन्य दलहरूसँग गरिएको गठबन्धनको विषय सकसपूर्ण र पेचिलो बनेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीलाई तत्काल फिर्ता गर्न पहल गर्ने समेत निर्णय गरेको छ । यस निर्णयले झापा जिल्लाको दमकमा राप्रपासहितको गठबन्धन सङ्कटमा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्