समाचार

जन्मदिनमा विद्यालयमा अक्षयकोष

१० मंसिर २०७८, शुक्रबार ११:१८
जन्मदिनमा विद्यालयमा अक्षयकोष

बागलुङ: रोजगारीको सिलसिलमा जापानमा रहेका यहाँका एक युवाले जन्मदिनमा हुने फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

बागलुङको गलकोट नगरपालिका–७ मल्म, आँगाखेत रामु थापाले आफ्नो छोरा आयुस थापाको जन्मदिनमा रिवारे प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाका अध्यक्षसमेत रहेका थापा दलित र विपन्न विद्यार्थीको बाहुल्यता रहेको मल्मस्थित विद्यालयमा नगद रु २० हजारको शैक्षिक अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ ।

विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक प्रगति होस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको र त्यसलाई बढाउँदै लैजाने थापाले बताए ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौँ भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरी आफूले शैक्षिक अक्षयकोष स्थापना गरेको थापाको भनाइ छ ।

रकम सानो भए पनि यसको महत्व ठूलो रहेको र शैक्षिक जगत्मा थोरै भए पनि सहयोग पुग्ने उनले उल्लेख गरेका छन् । उक्त रकमको वार्षिक ब्याजमार्फत विद्यार्थीले शैक्षिक सामग्री पुरस्कारस्वरुप प्राप्त गर्ने सिरबारे प्राथमिक विद्यालय गलकोट नगरपालिका–७ मल्म सिरबारेका प्रधानाध्यापक कल्पना गौतमले जानकारी दिए ।

अक्षयकोष रकम विद्यालयमा आयोजित कार्यक्रममा गलकोट नगरपालिका–७ का वडासदस्य लोकबहादुर थापा र सामाजिक संस्था घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्तरुपमा विद्यालयलाई हस्तान्तरण गरेका छन्।

गलकोट नगरपालिका–७ मल्म स्थायी घर भई जापानमा कर्म गरिरहेका युवा समाजसेवी रामु थापाले समय समयमा विभिन्न सङ्घ संस्थासँगै समाजमा यस्तै परोपकारी काम गर्दै आएका छन् ।

उक्त विद्यालयमा गत वर्ष गलकोट समाज जापान क्षेत्रीय समितिले नागोयाले नगद रु ५० हजारको शैक्षिक अक्षयकोष स्थापना गरेको छ ।

संस्थाका अध्यक्ष थापाले रु २० हजार रकम अक्षयकोषस्वरुप सहयोग गरेपश्चात् विद्यालयमा अक्षयकोष रकम रु ७० हजार पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्