समाचार

धान खेतमै पुगेर जनगणना

२७ कार्तिक २०७८, शनिबार १६:१२
धान खेतमै पुगेर जनगणना

झापा: जनगणनामा खटिएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फाराम भरिरहेको भेटिन ।

खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उनको घरमा नभेटिएपछि नजिकैको खेतमै पुगेर राजवंशीले जनगणनाको फाराम भरेकी छन् । पहिलो चरणको गणनामा नाम छुटेकी भद्रपुर–६ की आस्मा खातुनको विवरणसमेत राजवंशीले सोही बेला टिए ।

उनले भनिन “घरमा मान्छे नभेटिएपछि सोधी खोजी गरेर उनीहरु जहाँ थिन् त्यहीँ गएर फाराम भरेकी छु । कोही नछुट्ने गरी काम गरिरहेका छौँ ।” गणनाका लागि जाँदा केही समस्या आउने गरेको उनको भनाइ छ । “केहीले उमेर भन्न मान्दैनन्, केहीले अन्दाजी यति उति लेखिदिनु भन्छन्।

डेरामा बस्ने मान्छे घरमा भेटिँदैनन्, मोबाइल नम्बर पनि घरबेटीसँग माग्दा नपाइएको अवस्था छ ।” बिर्तामोड नगरपालिकामा घरभाडामा बस्ने मानिसको सङ्ख्या धेरै छ । इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरीलगायतका जिल्लासँगै भारतबाट व्यवसाय–मजदूरी गरेर बस्नको सङ्ख्या धेरै छ ।

जनगणनामा खटिएका बिर्तामोड–४ का नवेश गुरुङले एउटै घरमा पाँच/छ परिवार घरभाडामा बस्दै आएको पाइएको बताए । “कर उठाउन, भाडा बढाउन, चुनावका लागि विवरण लिन आएको भन्ने मानिसमा भ्रम रहेको पाइयो”, बिर्तामोड–५ मा गणकका लागि खटिए ।

धेरैले विवरण दिन अन्काउँछन्, धेरै ‘कन्भिन्स’ गर्दा मात्र विवरण दिने गरेका छन् ।” उनले मानिसको बुझाइ गलत भएकाले केही समस्या भएको बताए। राजवंशी र गुरुङजस्तै जिल्लामा हाल एक हजार १८७ जना गणक जनगणनामा खटिएका छन् ।

उनीहरु घरदैलोसँगै खेतबारी र कार्यस्थलमै पुगेर विवरण लिइरहेका छन् । जनगणनाका लागि झापामा दुई वटा कार्यालय (बिरिङ नदी पश्चिम दमक र बिरिङ नदी पूर्व भद्रपुर) स्थापना गरिएको छ ।

यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार ५०० परिवार र करिब १० लाख जनसङ्ख्या रहेको तथ्याङ्क छ । रासस

प्रतिक्रिया दिनुहोस्