समाचार

विप्लवले कारवाही गरेका दुई नेताले नयाँ पार्टी घोषणा गर्दै

१४ बैशाख २०७९, बुधबार ०६:३६
विप्लवले कारवाही गरेका दुई नेताले नयाँ पार्टी घोषणा गर्दै

१४ बैशाख, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका दुई नेताले नयाँ पार्टी घोषणा गर्दैछन् ।

यसअघि विप्लवसहित बसेको नेकपाको बैठकले केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शन र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको थियो । बैठकमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।

उनले दुवै नेतालाई पार्टीबाट निष्कासन गरेकाे विप्लवनिकट केन्द्रीय सदस्य अनिल शर्मा विरहीले जानकारी दिए । स्थानीय तह निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा पार्टीमा विवाद चर्केकाे थियाे । यही विषयकाे विवादले उग्र रूप लिँदा विप्लवले दुई शीर्ष नेतामाथि कारबाही गरेका हुन् ।

योसँगै यो पार्टी विभाजन भएको छ । यसको औपचारिक घोषणा हुन बाँकी छ ।  कारवाहीमा परेका दुई जना ओली र बास्तोलाले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् । यसअघि यो पार्टीमा स्थानीय तह निर्वाचनमा सहभागी हुने या नहुने भन्ने विषयमा मतभेद देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्