समाचार

देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : मल्ल

१४ बैशाख २०७९, बुधबार ०३:२२
देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : मल्ल

१४ बैशाख, डडेल्धुरा । साधारण सदस्यबाटै निष्काशित गरिएपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका पूर्वसभापति कर्ण मल्लले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।

मंगलबार काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ । ‘नेता मल्लले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरित गतिविधि गरेको हुनाले निजलाई नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

विधान विपरीत मल्लले गरेका कामका विषयमा भने खुलाइएको छैन । ‘विधिवत रुपमा पार्टी सञ्चालन हुनुपर्ने भनेर न्यायका लागि संघर्ष गर्दैगर्दा राजनीतिक जीवन समाप्त पार्ने दूरासयले अनाहकमा कारवाही गरिएको सञ्चारमाध्यमबाट थाहा पाएँ,’ सांसद मल्लले प्रतिकृया दिँदै भने, ‘सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले छैटौं पटकको अथक प्रयासपछि मलाई पार्टीबाट निकाल्न सफल हुनु भएको छ, उहाँलाई बधाई दिँदै सहर्ष रुपमा कारबाही स्वीकार गर्दछु ।’

उनले देउवाले प्रजातान्त्रिक कांग्रेसका पालामा पनि सदस्यबाट निकालेको स्मरण गर्दै एकीकरणपछि छैटौं पटकको अथक प्रयासमा फेरि निकाल्न सफल भएको उल्लेख गरेका छन्। आफू सभापति भएका बेला कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नपाएको बताउँदै मल्लले प्रजातान्त्रिक दलभित्रको निरंकुशता खेप्न नसक्ने इमान्दार नेता कार्यकर्ताहरु कारवाहीको शिकार हुनुपर्ने अवस्था आउनु दुर्भाग्य भएको जिकिर गरे।

यसअघि स्थानीय तह निर्वाचनको मनोनयन आउँदै गर्दा वैशाख ८ मा पनि मल्लले मल्लले सभापति देउवासँग आफूहरुलाई अभिभावकत्व दिन आग्रह गरेका थिए। डडेल्धुरास्थित शक्तिपीठ उग्रतारा मन्दिर अगाडिबाट उनले आफूहरुलाई अभिभावकत्व दिन पनि आग्रह गरेका थिए। यसको अर्थ उनले स्थानीय निर्वाचनमा आफूहरुलाई पनि समेटेर लैजान भनेका थिए।

प्रतिक्रिया दिनुहोस्