समाचार

माओवादीका उम्मेदवार निर्विरोध

१३ बैशाख २०७९, मंगलवार ०५:१४
माओवादीका उम्मेदवार निर्विरोध

१३ वैशाख, म्याग्दी ।म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा (माओवादी केन्द्र)का एक वडा सदस्य निर्विरोध भएका छन् ।

माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसमेत रहनुकी सीताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्विरोध भएका छन्। धवलागिरी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले १ नं वडाको महिला सदस्य पदमा छन्त्यालको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताए ।

छन्त्याल निर्विरोध भएसँगै माओवादीले स्थानीय तह चुनावमा मतदान नहुँदा म्याग्दीमा खाता खोलेको छ । छन्त्याल निर्विरोध हुने जिल्लाको एक मात्र उम्मेदवार बनेका छन् । धवलागिरिको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उम्मेदवारी परेको छ । मुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राति ११ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।

गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र वडा सदस्यमा ५३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भोलाराज रेग्मीले बताए । गाउँपालिका अध्यक्षमा एमालेका थमसरा पुन, कांग्रेसका प्रेमप्रसाद पुन, नेकपा (एकीकृत समाजवादी)का बमबहादुर पाइजा, राप्रपाका होमबहादुर थापा र नेशनल मङ्गोल अर्गनाइजेशनका सकबहादुर पुन मगरले मनोनयन दर्ता गरेका छन् ।

उपाध्यक्षमा एमालेका प्रगति कार्की, नेकपा (माओवादी केन्द्र)का रेशम पुन र मङ्गोल नेशनल अर्गनाइजेशनका खममाया रोकाको मनोनयन दर्ता भएको छ । थमसरा पुन एमालेबाट दोस्रोपटक धवलागिरिको अध्यक्षमा उम्मेदवार बन्नुभएको हो ।

एमालेका जिल्ला उपसचिवसमेत रहेकी पुन गत स्थानीय तह चुनावमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । धवलागिरिमा कांग्रेस र माओवादीले वडा तहसम्मनै तालमेल गरेका छन् । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका प्रेमप्रसाद पुन कांग्रेसको धवलागिरि गाउँपालिका सभापति हुनुहन्छ ।

गाउँपालिका अध्यक्षमा एमालेबाट आकाङ्क्षी रहेका होमबहादुर थापाले राप्रपाबाट टिकट लिएर अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । थापा गत पुसमा भएको एमालेको पालिका अधिवेशनबाट धवलागिरि गाउँपालिका कमिटीको अध्यक्षमा निर्वाचित भएका छन् ।

एमालेले धवलागिरिको अध्यक्षमा पुन र उपाध्यक्षमा कार्कीलाई सोमबार बिहान मात्र उम्मेदवार छनोट गरेको थियो । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै थापा राप्रपा प्रवेश गरेर अध्यक्षको उम्मेदवार बनेका छन्।

प्रतिक्रिया दिनुहोस्