समाचार

दुई पालिकामा उम्मेदवारी दर्ता भएन

११ बैशाख २०७९, आईतवार १४:५५
दुई पालिकामा उम्मेदवारी दर्ता भएन

११ वैशाख, सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता गर्ने आज पहिलो दिन कैलाली जिल्लाका दुई पालिकामा कसैको पनि उम्मेदवारी दर्ता भएको छैन ।

चुरे गाउँपालिकाका निर्वाचन अधिकृत राईभान कुञ्जेडाले आज उम्मेदवारी दर्ता गर्न कोही व्यक्ति नआएको जानकारी दिए । उम्मेदवारी मनोनयनको फाराम पनि कसैले लगेका छैनन्, सोमबार उम्मेदवारी दर्ता गराउने तयारी गरिएको भन्ने कुरा सुनिएकाले आज पहिलो दिन कोही नआएको हुनसक्छ ।

जिल्लाको कैलारी गाउँपालिकामा पनि आज कसैको उम्मेदवारी दर्ता भएको छैन । निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले कसैको उम्मेदवारी नपरेको बताए। नेपालले भन्नुभयो, “भोलिसम्म उम्मेदवारी दर्ता गराउन आउने भन्ने जानकारी आफूलाई आएको छ ।” गठबन्धन गरेर सहमति जुटाउन भइरहेको ढिलाइले आज उम्मेदवारी दर्ता गराउन कोही नआएको बताइएको छ ।

जिल्लाको गौरीगङ्गा नगरपालिकामा आज एक जनाले मात्र स्वतन्त्र उम्मेदवारी दर्ता गराए । जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी, टीकापुर, लम्कीचुहा, घोडाघोडी, भजनी नगरपालिका, बर्दगोरिया, जानकी, जोशीपुर गाउँपालिकामा भने विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका प्रमुख राजनीतिक दलले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने तयारी गरिरहेको ती दलको नेताले बताएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनमा जिल्लाका १३ स्थानीय तहका ६८९ जनप्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो ।

भौगोलिक रूपमा विकट पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा भने सञ्चार सम्पर्क हुन नसकेको कारण उम्मेदवारी दर्तासम्बन्धी विवरण प्राप्त हुन सकेको छैन ।

आज पहिलो दिन सहरी क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा केही चहलपहल देखिए पनि ग्रामीण क्षेत्रका पालिका तहका निर्वाचन कार्यालय प्रायः सुनसान थिए । निर्वाचनका लागि निर्वाचन आयोगले दुई दिन उम्मेदवारीको मनोनयन दर्ता गर्ने दिन तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्