समाचार

पाँचदलीय गठबन्धन : जिल्ला–जिल्लामा पनि सिट बाँडफाँड कठिन

५ बैशाख २०७९, सोमबार ०१:३८
पाँचदलीय गठबन्धन : जिल्ला–जिल्लामा पनि सिट बाँडफाँड कठिन

५ वैशाख, काठमाडौं । पाँचदलीय गठबन्धनको केन्द्रीय निर्णयअनुसार आइतबार साँझसम्म सबै जिल्लाले सिट बाँडफाँडको प्रस्ताव प्रदेश संयन्त्रमा पठाउनुपर्ने थियो ।

तर, महानगर र उपमहानगरपालिकामा मात्रै होइन, जिल्ला–जिल्लामा पनि सिट बाँडफाँड टुंग्याउन कठिन भएको छ ।केन्द्रीय निर्णयअनुसार जिल्ला संयन्त्रले ३ वैशाखभित्र नगरपालिको प्रमुख–उपप्रमुख र गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँडको आवश्यक निर्णय प्रदेश संयन्त्रलाई सिफारिस गर्नुपर्ने थियो । र प्रदेश संयन्त्रले निर्णय गरी ५ वैशाखभित्र केन्द्रमा पठाउनु थियो ।

तर, प्रदेश नेताहरूका अनुसार धेरै जिल्लामा सिट बाँडफाँड टुंगिन बाँकी छ । जिल्ला संयन्त्रले ३ वैशाखभित्र महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा सदस्यहरूको सिट बाँडफाँडको निर्णय लिइसक्नुपर्ने थियो । विभिन्न पार्टीका प्रदेश नेताहरूका अनुसार धेरै ठाउँमा समस्या देखिएको छ ।

प्रदेश १ का कांग्रेस सभापति उद्धव थापाले वार्ता जारी रहेको र सोमबारसम्म टुंगिन सक्ने विश्वास व्यक्त गरे । ‘वार्ता चल्दै छ, अझै टुंगिएको छैन, सोमबारसम्म टुंगिएला,’ उनले भने, ‘माथिको निर्णय जे आउँछ त्यो स्विकार्छौँ । नगर र गाउँपालिकामा आवश्यकताका आधारमा तालमेल हुनुपर्छ । केन्द्रको निर्णयसँगै प्रदेशको पनि टुंग्याउँछौँ ।’माओवादी केन्द्रका प्रदेश १ सचिव गणेश उप्रेतीले कांग्रेसभित्रको अन्तरकलहका कारण समस्या आएको बताए ।

गठबन्धन गर्ने र नगर्ने कांग्रेस समूहको द्वन्द्वको प्रदेश १ सिकार भयो । तैपनि हामी सकारात्मक वार्ताका लागि प्रयासरत छौँ,’ उनले भने, ‘पहिले गाउँ र नगरको गठबन्धन टुंगो लगाउनुपर्छ । यदि यसो नगरी महानगर र उपमहानगर मात्र टुंगो लगाइयो भने माओवादीलाई स्विकार्य हुनेछैन ।’

प्रदेश १ कै जसपा अध्यक्ष प्रवीण चाम्लिङले वार्तामा प्रगति भएको र सबै जिल्लाको रिपोर्ट आउन बाँकी रहेको बताए । ‘सबै जिल्लाबाट रिपोर्ट आइसकेको छैन । आएपछि मात्रै कहाँ कति गठबन्धन गर्ने थाहा हुन्छ । वार्तामा प्रगति भइरहेको छ,’ उनले भने । एकीकृत समाजवादीका प्रदेश १ का सचिव महेश रेग्मीले केन्द्रको निर्णय नभएसम्म तल टुंग्याउन कठिन भएको बताए । ‘वार्ता जारी छ । तर, केन्द्रको निर्णय नभएसम्म नगर र पालिकाको गठबन्धन टुंगिने अवस्था छैन,’ उनले भने, ‘हामी गठबन्धन कार्यान्वयनको पक्षमा निरन्तर छौँ ।’

कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गठबन्धनको आन्तरिक तयारी भइरहेको र मतभारका आधारमा धेरै स्थानमा टुंगो लागेको बताए । ‘वास्तविक आधारविपरीत गरिने गठबन्धनले दुर्घटना हुन्छ । त्यो एमालेलाई जिताउने प्रयास मात्रै हुनेछ । हामी इमानदारिताका साथ स्थानीय आवश्यकताकै आधारमा गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ,’ उनले भने, ‘पोखरा महानगरपालिका कांग्रेसलाई नै हुनुपर्छ भन्ने नै छ । पहिलो काम हाम्रो पार्टी बचाउनु नै हो ।’

जसपाका बागमती प्रदेश अध्यक्ष सोनामसिंह स्याङ्तानले गठबन्धनका सबै दलबीच धेरै सिटमा दाबी रहेको बताए । ‘नगर र गाउँपालिकाका लागि १३ वटै जिल्लाबाट सिफारिस नामावली नआउँदा छलफल अघि बढाउन सकिएको छैन,’ उनले भने, ‘सिफारिस नआए पनि सिट संख्या टुंगो लगाउन सकिन्थ्यो, तर सबैको दाबी संख्या धेरै हुँदा समस्या भइरहेको छ । सोमबारभित्र जिल्लाबाट सिफारिस आउँछ र दुई दिन छलफल गरेर उम्मेदवार तय गर्नेछौँ ।’

कांग्रेस बागमती प्रदेश समिति सभापति इन्द्र बानियाँले तीन दिनभित्रै उम्मेदवारको टुंगो लगाउने गरी निरन्तर छलफल भइरहेको भए पनि निर्णय भइनसकेको बताए । ‘कसरी भागबन्डा गर्नेबारे छलफल भइरहेको छ । ०७४ को निर्वाचनमा प्रमुख–उपप्रमुख जितेका क्षेत्रमा सोही कायम रहने गरी अघि बढ्नेबारे प्रारम्भिक छलफल भइसकेको छ, अब सहमति जुटाउनेतर्फ केन्द्रित छौँ,’ उनले भने ।

माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले केन्द्रबाट निर्देशन गरिएको सातवटा आधारअनुसार नै टुंग्याउने प्रयास भएको बताए । ‘दलहरूको आ–आफ्नो दाबी कायमै छ । जिल्लाको रिपोर्टअनुसार निर्णय गर्न सोमबार प्रदेश संयन्त्रको बैठक बस्दै छ र निर्णय हुन्छ,’ उनले भनिन् ।  कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले सहमति खोज्न अझै दुई–तीन दिन लाग्ने बताए । ‘सबैको आ–आफ्नै दाबी छ । गठबन्धन दलका नेताहरू निरन्तर संवादमा छौँ,’ उनले भने, ‘सबै टुंगो लगाएर निर्णयमा पुगेर सबै टुंगो लगाउन अझै दुई–तीन दिन लाग्छ । नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस्