समाचार

युवतीको मृत्युपछि तिलोत्तमा अशान्त

३ बैशाख २०७९, शनिबार १५:२३
युवतीको मृत्युपछि तिलोत्तमा अशान्त

३ वैशाख, रुपन्देही। गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ ।

प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै तीन दिनदेखि आन्दोलन गरिरहेका छन् ।

परिवारका सदस्यले नै हत्या गरेको आरोप लगाउँदै उनीहरुलाई कडा कारबाही गर्न मृतकका आफन्तले माग गरेका छन् । बुटवल इलाका प्रहरी कार्यालयका अनुसार बुधबार राति खत्रीले विष सेवन गरेपछि उपचारका लागि लुम्बिनीस्थित प्रादेशिक अस्पताल ल्याइएकामा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

खत्रीका माइती पक्षले श्रीमान् र सासू मिलेर हत्या गरेको आशङ्का गर्दै कारबाहीको मागसहित अमृताको घर घेराउ गरेका छन् । घरमा श्रीमान्सँग मनमुटाव भएपछि माइत गएकी खत्रीलाई बारम्बार फोन गरेर बोलाई कुटपिट गरेर विष खुवार्ई हत्या गरेको माइती पक्षको आरोप छ ।

मृतकका दाजु पुष्पक खत्रीले अमृताले बुधबार राति ९ः३० बजे आफूलाई बचाउन आग्रह गर्दै म्यासेज गरेको बताउनुभयो । म्यासेज आएको १५ मिनेटपछि अमृताको अस्पतालमा मृत्यु भएको खबर आएको गुनासो गर्दै उनले भने । अमृताले आफैँ विष सेवन गरेकी होइनन् घरमा उनलाई मार्ने षडयन्त्र भएपछि बचाउन आग्रह गर्दै मलाई म्यासेज गरेकी थिइन् ।

एकैछिनमा अस्पतालमा मृत्यु भयो भन्ने खबर आयो”, खत्रीले पत्रकारसँगको कुराकानीमा भने । घटनापछि प्रहरीले घटनास्थल तथा शवको जाँच मुचुल्कासमेतको प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको जनाएको छ ।

मृतककी श्रीमान् प्रेम टण्डन, ससुरा टहलसिंह र सासू दीपा विरुद्ध कर्तव्य ज्यान मुद्दामा गत बिहीबार मृतकका दाजु पुष्पक खत्रीले जाहेरी दर्ता गराए । जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी शुक्रबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक कुँवरले बताउनुभयो। मृतकका आफन्तले शुक्रबार पनि इलाका प्रहरी कार्यालयमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्