राजनीति

काठमाडौं मेयरमा एमालेबाट पाँचजनाको नाम सिफारिस

२ बैशाख २०७९, शुक्रबार ०३:३०
काठमाडौं मेयरमा एमालेबाट पाँचजनाको नाम सिफारिस

३ वैशाख, काठमाडौं । एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा संघीय सांसद रामवीर मानन्धरसहित पाँचजना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

महानगर कमिटीको बैठकले मानन्धरसहित वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्तको नाम मेयरमा सिफारिस गरेको हो ।

मानन्धर पूर्वराज्यमन्त्रीसमेत हुन् । शाक्य एमाले काठमाडौंका पूर्वअध्यक्ष, स्थापित पूर्वमेयर तथा प्रदेश सभा सांसद देउला महानगर कमिटीका अध्यक्ष हुन् । पन्त प्रदेश कमिटी सदस्य तथा उद्यमी महिला नेत्री हुन् ।

बैठकले उपमेयरमा सांसद रत्ना गुरुङ, पेम्बा लामा, मीना काफ्लेलगायतको नाम सिफारिस गरेको छ । एमालेले ३२ वटै वडामा वडाध्यक्ष र सदस्यहरूको नाम पनि सिफारिस गरेको छ । वडाको उम्मेदवार जिल्ला कमिटी र महानगरको मेयर र उपमेयरको नाम केन्द्रीय कमिटीले अन्तिम टुंगो लगाउनेछ । महानगर कमिटीका अध्यक्ष देउलाले जिल्ला कमिटीले सिफारिस गरेका नाम प्रदेशमा पठाउने तयारी गरिरहेको बताए ।

एमालेले ललितपुर महानगरको मेयरमा भने हरिकृष्ण व्यञ्जनकार र उममेयरमा मञ्जली शाक्यको नाम सर्वसम्मत टुंगो लगाइसकेको छ । एमालेले काठमाडौंको दशओटै नगरपालिकामा मेयर र उपमेयर तथा वडाका उम्मेदवारहरूको छनोट प्रक्रिया अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्