समाचार

सुदूरपश्चिममा गठबन्धन स्थानीय तहदेखि नै तालमेल गरेर जाने निर्णय

२९ चैत्र २०७८, मंगलवार १५:३१
सुदूरपश्चिममा गठबन्धन स्थानीय तहदेखि नै तालमेल गरेर जाने निर्णय

२९ चैत, सुदूरपश्चिम ।  स्थानीय तहको निर्वाचनका लागि सत्तासीन दलहरूले सुदूरपश्चिममा जिल्लास्तरमै तालमेल गरेर जाने निर्णय गरेको छ ।

मंगलबार धनगढीमा बसेको सत्तारुढ गठबन्धनको प्रदेश स्तरीय बैठकले तालमेलबारे निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश कमिटि सचिव दिनेशचन्द्र सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

शुक्रबार प्रदेश सरकारमा नेपाली काँग्रेसलाई समेत समेट्दै मन्त्रिपरिषद पुनर्गठन गरिएको हो । प्रदेश सरकार पुनर्गठनका क्रममा आफूहरुसँग छलफल नै नगरिएको भन्दै जसपा नेपालले आपत्ति जनाएको हो । सरकार गठन, सरकार विस्तार तथा अन्य विभिन्न निर्णय लिने सवालमा जसपा नेपाललाई उपेक्षा गरिएको भन्दै सो पार्टीका नेताहरु स्थानीय तहको निर्वाचनमा तालमेल गर्न आफूहरु बाध्य नहुने बताउँछन् ।

मंगलबार बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर, एकीकृत समाजवादीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदी र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष मानसिंह माल, राष्ट्रिय जनमोर्चाका नेता नन्दलाल भट्ट र हरीकृष्ण पाण्डे तथा जनता समाजवादीका आरसी यादवको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्