समाचार

गठबन्धनबाट बाहिरियो जसपा

२६ चैत्र २०७८, शनिबार १३:०८
गठबन्धनबाट बाहिरियो जसपा

२६ चैत, धनगढी । केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध भएपनि प्रदेश सरकार पुनर्गठनका क्रममा आफूहरुलाई बेवास्ता गरेको भन्दै जसपाले आपत्ति जनाएको हो ।प्रदेश सरकारमा आफ्नो पार्टीलाई बेवास्ता गरेको भन्दै गठबन्धनबाट बाहिरिने तयारी गरिएको जसपा सुदूरपश्चिमका एक नेताले बताए। शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन् तर जसपालाई सहभागी गराइन। सरकारमा सहभागी नगराएको भन्दै उनीहरू रुष्ट भएका हुन्।

जसपाका प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरीले आफूहरुलाई बाइपास गरिएकाले यथास्थितिमा गठबन्धन रहन नसक्ने बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसँग कुनै छलफल नगरी केन्द्रबाट प्रत्यक्ष हस्तक्षेप गरेर सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ मन्त्री पठाइएको भन्दै सुदूरपश्चिम प्रदेशस्थित सत्तारुढ दलभित्र असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्