समाचार

कांग्रेस एक्लै अघि बढ्ने भएपछि मोरङमा अर्को गठबन्धनको तयारी

२५ चैत्र २०७८, शुक्रबार ११:३५
कांग्रेस एक्लै अघि बढ्ने भएपछि मोरङमा अर्को गठबन्धनको तयारी

२५ चैत, विराटनगर । नेपाली कांग्रेस मोरङ नगर समितिले गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेपछि कांग्रेसबाहेकका दलले गठबन्धन गरी चुनावमा जान छलफल सुरु गरेका छन् ।

शुक्रवार सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसबाहेकको गठबन्धन बनाउने तीन दलका नेताहरूले छलफल गरेका छन् । विराटनगरको एक होटेलमा उनीहरूले छलफल गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता गणेश उप्रेतीले कांग्रेसले दम्भ प्रदर्शन थालेका कारण माओवादी, जसपा र एकीकृत समाजवादीसहितको तीन दलीय गठबन्धनको तयारी भएको जानकारी दिए।

नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले कांग्रेसले गठबन्धनको नीति नमान्दा अर्को गठबन्धन स्वाभाविक हुने बताए। ‘केन्द्रीय नीति अनुसार कांग्रेस र अरू दल अघि बढनुपर्छ,’ रेग्मीले थपे, ‘होइन, केन्द्रकै निर्णयलाई चुनौती दिने हो भने हामीले कांग्रेस पर्खिरहनुपर्ने आवश्यकता छैन। हामी तीन दलीय गठबन्धन बनाउन तयार छौं।’

प्रतिक्रिया दिनुहोस्