समाचार

अमेरिकामा ८ जना नेपालीलाई समात्यो

२३ चैत्र २०७८, बुधबार १८:३६
अमेरिकामा ८ जना नेपालीलाई समात्यो

२३ चैत, काठमाडौं । अमेरिका पुगेर ‘गैरकानुनी गतिविधिमा संलग्न’ आठ नेपालीलाई डिपोर्ट गरेर पर्सि शुक्रबार नेपाल उतारिँदैछ । अमेरिकी सरकारले आफैं जहाज चार्टर गरेर तिनलाई प्रहरीको साथमा पठाउन लागेको हो ।

उता, युक्रेनसँगको युद्धमा केन्द्रित भएको रुसले नेपालसँग शाही शासनमै भएको एउटा कूटनीतिक सम्झौता कार्यान्वयन नभएको भन्दै गुनासो पोखेको छ । त्यसो त अहिलेको युद्धमा नेपालले युक्रेनलाई साथ दिएपछि असंलग्न परराष्ट्र नीतिको आलोचना भइरहेको छ । तर, रुस झस्किएको यसमा हैन, पहिलाकै ‘श्री ५ को सरकार’ कालीन सम्झौता कार्यान्वयन नभएकोमा हो ।

डिप्लोप्याटिक र अफिसियल पासपोर्टबाहक आफ्ना नागरिक नेपाल आउँदा भिसा नचाहिने सम्झौता नेपालको तर्फबाट कार्यान्वयन नभएको विषयमा बालुवाटारस्थित रुसी दूतावासले डिप्लोम्याटिक नोट लेखेको छ । परराष्ट्र मन्त्रालयले उक्त गुनासो कार्यान्वयनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएको छ । भनिन्छ, सोही बमोजिम अध्यागमनलाई गएको पत्रमा भरमार व्याकरणीय त्रुटी छ । त्यसबेलाको ‘श्री ५ को सरकार’ अहिले ‘नेपाल सरकार’ भएको छ ।

चिठीमा नेपाल सरकार लेख्नुपर्नेमा सीधै श्री ५ को सरकार लेखिएको छ । त्यस्तै, अन्तिम अनुच्छेदमा ‘…पारस्परिक सम्झौता कार्यान्वयन नभएकोमा पटक पटक गुनासो प्राप्त नभएको…’ भनिएको छ । रसियन फेडरेशनसँग गरिएको उक्त सम्झौता २०६३ सालअगाडिकै हो । त्यसलाई अहिले फेरि चैत १ गतेदेखि कार्यान्वयन गरिएको परराष्ट्रस्रोतले जनाएको छ ।

यसबीच लुम्बिनी विश्वविद्यालयमा अध्ययनरत १ चिनियाँ अर्कै व्यक्तिको नाउँको राहदानी प्रयोग गरेबापत इन्टरपोलको नोटिसमा परेका छन् भने स्वदेश फर्कन खर्च नभएर खान–लाउन समस्या भएको निवेदन दिई ओभरस्टे बस्ने २ चिनियाँ र खोटा सिक्का अभियोगमा २ बंगलादेशी अध्यागमनको हिरासतमा छन् । जिम्मा लिएर लाने कोही नहुँदा अदालतको आदेशबमोजिम थुनिएका हुन् । लागू औषध मुद्दाका १ जना जिम्बाबे नागरिक कालिकास्थान, डिल्लीबजारस्थित अध्यागमनको हिरासतमा दिन काट्दैछन् ।

त्यस्तै, नेपालमा विदेशी पर्यटकको आगमन बृद्धि भएको छ । अहिले दैनिक १० हजार विदेशी पर्यटक नेपालबाट जाने आउने गरिरहेका छन् । कोभिड संक्रमणअघि एकै दिन ५६ सयसम्म पर्यटक भित्रिने गर्थे । अप्रिल १ देखि हिजोको ५ दिनबीच १११ जना रुसी नागरिक नेपाल छिरेका छन् भने यही अवधिमा आउने विदेशीको संख्या दैनिक सरदर २ हजार छ ।

जबकि सन् २०२२ को जनवरीदेखि अस्ति सोमबारसम्म छयासी हजार नौ सय सडसठ्ठी अर्थात् दैनिक औसत नौ सय २५ जना पर्यटकको आगमन भएको थियो । जनवरीमा १६ हजार नौ सय पचहत्तर जना आउँदा फेब्रुअरीको १९ हजार ८ सय ५४ लाई मार्च महिनाले ह्वात्तै टपेर ४२ हजार १ सय बाउन्न पुगेको छ अर्थात् नेपालको पर्यटन व्यवसायले अब क्रमशः फड्को मार्ने सुखद संकेत प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्