समाचार

लोसपा पनि चुनावी गठबन्धनतर्फ

१९ चैत्र २०७८, शनिबार ००:५८
लोसपा पनि चुनावी गठबन्धनतर्फ

१९ चैत, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौंमा सम्पन्न लोसपा कार्यकारिणी समिति बैठकले स्थानीय कमिटीलाई आगामी निर्वाचनमा गठबन्धन गर्न अधिकार दिएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचन विषयमा छलफल गर्न बसेको बैठकले स्थानीय कमिटीलाई नै ‘जोसँग सम्मानजनक कुरा मिल्छ उसैसँग’ चुनावी गठबन्धन गर्न अधिकार दिएको छ ।

लोसपा कार्यकारिणी समितिका सदस्य सञ्जय यादवले आगामी निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको बताए । ‘स्थानीय कमिटीले जोसँग सम्मानजनक कुरा मिल्छ उसैसँग चुनावी गठन गरेर जाने अधिकार कार्यकारिणी समितिले दिएको छ,’ यादवले भने ।

लोसपा कार्यकारिणी समितिका सदस्य उमाशंकर अरगरियाले केन्द्रबाट गठबन्धन नहुने बताए । स्थानीय कमिटीले अनुकूल हुने दलसँग चुनावी गठबन्धन गर्न सक्ने अधिकार कार्यकारिणी समितिले दिएको उनले बताए ।

‘केन्द्रमा चुनावी गठबन्धनका लागि कुराकानी चलिरहेको छ तर अहिलेसम्म टुंगो लागेको छैन, केन्द्रका लागि पर्खिनुभन्दा स्थानीय तहमै चुनावी तालमेलका लागि जिम्मेवारी दिँदा उपयुक्त हुने भनेर त्यसरी स्थानीय कमिटीलाई अधिकार दिइएको हो,’ अरगरियाले भने ।

चुनावी गठबन्धन, सरकारमा सहभागी हुने विषयमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी भएको बताउँदै उनले मधेसको मुद्दा सम्बोधन नगरेसम्म लोसपा सरकारमा सहभागी नहुने बताए । यद्यपि, मधेसको माग पूरा गराउन प्रधानमन्त्री देउवा सकारात्मक रहेको उनले बताए । प्रधानमन्त्री देउवा भारतबाट फर्केपछि सो विषयमा पुनः छलफल हुने उनले बताए ।

लोसपा स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्केपछि गठबन्धनको विषयमा थप कुरा अगाडि बढ्नेछ । शुक्रबार भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्किंदै छन् ।

प्रधानमन्त्रीले दुई मन्त्रालय दिएर सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् । तर, लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले तीन मन्त्रालय पाउनुपर्ने अडानमा छन् । मधेसको माग सम्बोधन गर्दै सरकारमा सहभागी गराएर पाँच दलीय गठबन्धनमा लोसपालाई सहभागी गराउने रणनीतिमा प्रधानमन्त्री रहेका छन् ।

यसअघि नै आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो । कार्यकारिणी समितिका सदस्य एवं पूर्वमन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा पार्टी सरकारमा सहभागी हुनेछ ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन देउवाले आग्रह गरेका थिए ।

जसपा कार्यकारिणी समितिको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएको अवस्थामा सरकारमा सहभागी हुने जानकारी गराएका छन् ।

लोसपाले मधेस मुद्दा सम्बोधन, झुठा मुद्दा फिर्ता, नागरिकतालगायतका विषय उठाउँदै आएको छ । प्रधानमन्त्री देउवाले यी मुद्दा सम्बोधन गर्नेगरी सहमति गरेर सरकारमा सहभागी गराउने र अगामी निर्वाचनमा पाँच दलीय गठबन्धनमा सहभागी गराउने रणनीतिमा छन् ।

यस्तै, लोसपा बैठकमा पदाधिकारी चयन, कार्यकारिणी समिति र केन्द्रीय समितिलाई विस्तार गर्ने विषयमा छलफल भएको छ । निर्वाचनअघि कार्यकारिणी समिति र पदाधिकारी चयन नगर्ने सहमति भएको छ भने निर्वाचनअघि केन्द्रीय समितिलाई विस्तार गर्ने निर्णय भएको छ ।

‘स्थानीय तहको निर्वाचनमा कार्यकारिणी कमिटीका नेतालाई परिचालन गर्ने र सबैको क्षमता परीक्षणसमेत गर्ने विषयमा छलफल भएको छ । त्यसपछि पदाधिकारी तथा कार्यकारिणी कमिटीलाई विस्तार गरिन्छ,’ बैठकमा सहभागी एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस्