मनोरञ्जन

पुर्पक्षका लागि थुनामा रहेका पल शाह आज उच्च अदालत जाँदै

१५ चैत्र २०७८, मंगलवार ०२:२३
पुर्पक्षका लागि थुनामा रहेका पल शाह आज उच्च अदालत जाँदै

१५ चैत, काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका कलाकार पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिन लागेको उनले जनाएका छन्। पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले जाँदैछन्।

पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ । ‘थुनामा राख्न गरिएको तनहुँ जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत छैन । जिल्ला अदालतको आदेश बदर गरेर तारेखमा राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भनेर तल्लो अदालतले गरेको आदेशको उपरमा माथिल्लो अदालतमा दिन पाइने कानुनी व्यवस्था अनुसार पुनरावेदन दिँदैछौँ,’ उनले भने ।

घटना भएको लामो समय पछि मात्रै उजुरी दिइएको, बलात्कार भएको भनिएको भोलिपल्ट बिहानै बलात्कृत भनिएकी बालिका पलसँगै ढोरवाराही मन्दिर दर्शनमा गएको र उमेर शंकास्पद भएकाले कानुनसम्मत नभएको वरिष्ठ अधिवक्ता वाग्लेको जिकिर छ।

अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका(४ दुलेगौंडास्थित प्रदिप थापाको घरमा राति १२ बजेतिर ती बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ । १५ फागुनमा तनहुँ प्रहरी समक्ष आएर पलले आत्मसर्मपण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्