समाचार

कांग्रेस, माओवादी र लोसपाका मेयर-उपमेयरसहित चार वडाध्यक्ष एमालेमा प्रवेश

१४ चैत्र २०७८, सोमबार ०७:१३
कांग्रेस, माओवादी र लोसपाका मेयर-उपमेयरसहित चार वडाध्यक्ष एमालेमा प्रवेश

१४ चैत, काठमाडौं ।  पछिल्लो समय मधेश प्रदेशमा नेकपा एमालेप्रतिको आकर्षण ह्वात्तै बढेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ गठबन्धनमा रहेका महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश गरेका छन् ।

 एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । सोमबार बिहान बालकोट पुगेका उनीहरूलाई अध्यक्ष ओली खादा लगाएर पार्टीमा स्वागत गरे । प्रवेश गर्नेमा महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख समेत छन् । उनी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित अध्यक्ष हुन् ।

जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवी पनि लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेकी छन् । सोही कार्यक्रममा रामगोपालपुर नगरपालिकाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डलसमेत कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्