समाचार

कांग्रेस केन्द्रीय समिति बैठकमा अर्थमन्त्रीको राजीनामा मागियो

१३ चैत्र २०७८, आईतवार ११:३०
कांग्रेस केन्द्रीय समिति बैठकमा अर्थमन्त्रीको राजीनामा मागियो

१३ चैत, काठमाडौँ।  सत्ता साझेदार दल नेपाली कांग्रेसको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

 काँग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले बैठकमा भने, ‘व्यापार घाटा बढेको छ । अर्थतन्त्र ओरालो लागेको छ  । तर सुधारको प्रयास भएको छैन ।’

बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका स्नेहीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि माग गरेको बजेट विनियोजनमा ढिलाई, अर्थतन्त्रको सूचकलगायतका कारण अर्थमन्त्री शर्मा असक्षम भइसकेकोले सत्ता गठबन्धनभित्र छलफल गरेर बर्खास्त गर्नुपर्ने माग गरिएको बताए । उनले यसबारे प्रधानमन्त्री देउवाको जवाफ आइनसकेको र गम्भीर भएर सुनेको जानकारी गराए ।

यसअघि शुक्रबार पहिलो दिन पनि मुलुकको अर्थतन्त्र ओरालो लाग्दै गरेको र तत्काल ‘सुधारको कदम’ आवश्यक रहेको प्रसंगले बैठकमा प्रवेश पाएको थियो ।

केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले भने पार्टीकै नेतृत्वमा सरकार हुँदा अर्थतन्त्र अप्ठ्यारोमा परेको भन्दै प्रधानमन्त्रीसमेत रहेका सभाति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्