समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

११ चैत्र २०७८, शुक्रबार ०५:०३
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

११ चैत , काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय लिन बैठक बस्न लागेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्नेछ । बैठकले केन्द्रीय संसदीय समिति गठन गर्नेछ ।

उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन,  निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेललगायतमा बैठकमा छलफल हुनेछ । उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने विधानको व्यवस्था छ।  उम्मेदवार तय गरिसक्नु समयमा  संसदीय समिति गठन गर्न बैठक बोलाइएको छ ।

त्यस्तै, स्थानीय तहको चुनावको तयारीका सन्दर्भमा भएको अभियानका क्रममा जिल्ला जिल्ला खटिएका केन्द्रीय नेताहरूले केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्नेछन् । अभियानको प्रारम्भिक समीक्षाले देशभर पार्टीको संगठनको अवस्था कस्तो छ ? र कार्यकर्ताको चाहना कस्तो छ भन्नेबारे प्रस्ट हुने सहमहामन्त्री जीवन परियारले बताए । ‘अभियानको क्रममा केन्द्रीय प्रतिनिधिहरू देशभर सबै पालिकामा पुगेर फर्किनुभएको छ, उहाँहरू त्यहाँको अवस्थाबारे रिपोर्टिङ गर्ने र स्थानीय चुनावको तयारीमा त्यहीअनुसार रणनीति बनाएर अघि बढ्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यो स्थानीय चुनाव हो, त्यसैले तल्ला तह नै निर्णायक हुन्छन् । टिकटसमेत तलबाटै वितरण हुने हो ।’

प्रतिक्रिया दिनुहोस्