समाचार

पल शाहलाई पुर्पक्ष थुनामा पठाउन आदेश, म्यानेजर धरौटी रिया

१० चैत्र २०७८, बिहीबार १३:३५
पल शाहलाई पुर्पक्ष थुनामा पठाउन आदेश, म्यानेजर धरौटी रिया

१० चैत, काठमाडौं। कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबरजस्ती करणी अभियोगमा पुर्पक्ष थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

शाहले एक नाबालिकालाई तनहुँमा एक रिसोर्टमा २०७७ चैत ७ गते करणी गरेको भन्दै पीडितका आफन्तले किटानी जाहेरी दिएका थिए। फागुन ११ गते शाहविरुद्ध किटानी जाहेरी परेपछि उनी फागुन १५ गते आफै प्रहरीकहाँ पुगेका थिए।

अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालतमा शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो। बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालतले शाहलाई थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध जबर्जस्ती करणी मुद्दामा मतियार बनेको अभियोग दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्