मनोरञ्जन

पलका म्यानेजरको बयान : घटना बाहिरिएपछि तलब दोब्बर बनाइदिए, धम्की दिएकै हुँ

९ चैत्र २०७८, बुधबार ०७:५६
पलका म्यानेजरको बयान : घटना बाहिरिएपछि तलब दोब्बर बनाइदिए, धम्की दिएकै हुँ

९ चैत, काठमाडौं। नाबालिग जर्बजस्ती करणीको अभियोगमा मतियारको भूमिका निर्वाह गरेको भन्दै मुख्य अभियुक्त पल शाहका म्यानेजर कृष्ण प्रसाद जोशीविरुद्ध पनि मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भयो।

पल शाह पक्राउ परेपछि उनले घटना ढाकछोप प्रयास गरेको आरोप जोशीमाथि छ। पीडितलाई धम्की दिएको भन्दै उनीविरुद्ध पनि जाहेरी परेको थियो।

‘मैले पीडित नाबालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर। तिमीलाई मैले गीतसंगीतमा सहयोग गर्छु भनेको थिएँ,’ अदालतमा पेस गरिएको बयानमा उल्लेख छ।

कृष्ण जोशीको बयान यस्तो छ  

मैले पल शाह भन्ने पूर्णविक्रम शाहसँग मासिक २५ हजार रुपैयाँ तलब लिई फिल्म, गीत, संगीत र विज्ञापन तथा स्टेज कार्यक्रममा पूर्णविक्रम शाह सहभागी हुने तथा अभिनय गर्न रकम, कार्यक्रम र समय निर्धारण गर्ने तथा सुटिङको क्रममा विभिन्न स्थानमा जाँदा सुटिङ टिमलाई बास बस्ने व्यवस्था मिलाउने म्यानेजरको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ।

शाह र पीडित नाबालिगको सम्बन्ध बाहिरिँदै मिडियाहरुमा आएपछि प्रतिवादी पूर्णविक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नुपर्यो भन्दै मासिक तलब वृद्धि गरी दोब्बर ५० हजार रुपैयाँ दिएर पुनः म्यानेजरको जिम्मेवारीमा फर्काएकाले मैले पीडित नाबालिगलाई तिमीहरु एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भनेको हो।

पीडितपक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले…..लाई नाबालिग के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ। तर …ले भने अनुसार काम नगरेकीले निजलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ।

प्रतिक्रिया दिनुहोस्