समाचार

आयोगले साना दललाई पनि चुनाव चिन्ह प्रदान गर्ने, चैत ६ सम्म विवरण पेश गर्न निर्देशन

४ चैत्र २०७८, शुक्रबार ०२:०७
आयोगले साना दललाई पनि चुनाव चिन्ह प्रदान गर्ने, चैत ६ सम्म विवरण पेश गर्न निर्देशन

काठमाडौं: आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७३ वटा साना राजनीतिक दलले पनि चुनाव चिन्ह पाउने भएका छन् ।

बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई उनीहरूकै चुनाव चिन्ह दिनेबारे निर्णय गरेको छ। तर साना दलहरूले चैत ६ भित्र जिल्लाहरूमा पार्टीका संरचनालगायत विवरण खुल्ने कागजात आयोगमा पेश गरिसक्नुपर्नेछ।

स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन तथा नियमावली २०७३ मा राष्ट्रिय मान्यता प्राप्त गरेका दलहरुलाई मात्र निर्वाचन प्रयोजनका लागि राष्ट्रिय चुनाव चिह्न दिन सकिने प्रावधान छ । यसैअनुसार आयोगले ६ दलहरु बाहेकलाई राष्ट्रिय चुनाव चिह्न नदिने अडान लिएको थियो, र यसविरुद्ध साना दलहरु आन्दोलित थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो चुनाव चिह्न नपाए चुनाव नै हुन नदिने घोषणासमेत गरेको थियो ।

दलको जिल्ला समितिको विवरण भिडेका आधारमा आयोगले निर्णय गरी सोही दलको निर्वाचन चिह्न प्रदान गर्नेछ । आयोगले तोकेबमोजिमको विवरण पेस नगर्ने राजनीतिक दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न नै प्रदान गर्ने बताइएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा ७ मा स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्नबारे व्यवस्था छ ।

राष्ट्रिय दलले मात्रै आफ्नो निर्वाचन चिह्न पाउने नियमावलीको व्यवस्था व्यवहारिक नभएकोमा आयोग अहिले सहमत भएको हो । राजनीतिक दलहरुले पनि बिरोध गरेकाले लचकता अपनाइएको आयोगले जनाएको छ । संविधान र कानूनबमोजिम नै स्थापना भएका राजनीतिक दलले आफ्नो दल दर्ताका क्रममा प्राप्त गरेको चुनाव चिह्न नपाउने कानूनी व्यवस्था अव्यवहारिक देखिएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्