राजनीति

एमालेमा प्रवेश गरेका राजेशमान सिंह जसपा फर्किए

३ चैत्र २०७८, बिहीबार १५:२७
एमालेमा प्रवेश गरेका राजेशमान सिंह जसपा फर्किए

३ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल त्यागेर एमालेमा प्रवेश गरेका राजेशमान सिंह जनता समाजवादी पार्टी नेपालमा फर्किने भएका छन् ।

वीरगञ्ज महानगरपालिकाको मेयरको आकांक्षी सिंह एमालेबाट टिकट पाउने निश्चित नभएपछि पुनः अर्को दलमा जान लागेका हुन् । २८ फागुनमा जनता समाजवादी पार्टी छाडेर वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी एमाले प्रवेश गरेपछि सिंह भने जसपा जान लागेका हुन् ।

उनी एमालेमा प्रवेश गरेको एक महिनापछि मधेश केन्द्रीत दल जसपामा प्रवेश गर्न लागेको नेता प्रदीप यादवले बताए । उनले भने, ‘राजेशमानसँग कुराकानी भइसकेको छ, पार्टी प्रवेश कहिले गर्ने त्यसको बारेमा आज टुगों लाग्नेछ ।’

जसपाका तत्कालीन केन्द्रीय सदस्यसमेत रहेका वीरगञ्जका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेपछि जसपाले सिंहलाई पार्टीमा ल्याउने प्रयास थालेको थियो । मेयर सरावगी एमालेमा प्रवेश गरिसकेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले सिंहसँग छलफल गरेर पार्टीमा फर्काउने जिम्मेवारी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सांसद प्रदीप यादवलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्