समाचार

होलीमा काठमाडौं ट्राफिकको कडाइ : मापसे गर्ने १०६ जनालाई कारवाही

३ चैत्र २०७८, बिहीबार १४:४२
होलीमा काठमाडौं ट्राफिकको कडाइ : मापसे गर्ने १०६ जनालाई कारवाही

३ चैत, काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा (होली) लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौंमा १ हजार ३०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको छ ।

दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको थियो। महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा चेक प्वाइन्टहरु राखेर बिहानदेखि नै कडा चेकजाँचको व्यवस्था मिलाएको थियो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले रंगहरूको पर्वमा सबै जना फेस्टिभ मूडमा हुने, होहल्ला गरी सवारी चलाउने, नशालु पदार्थको सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर बिहानैदेखि चेक प्वाइन्ट राखी चेकिङलाई कडा पारिएको बताए ।

‘बिहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने १०६ जनालाई कारबाही गरिएको छ,’ एसएसपी जोशीले भने, ‘बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकहरुलाई कारबाही र होल्ड गरिएको छ।

उच्छृंखल तथा अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीब्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा ३ जनाभन्दा बढी सवार गरी चलाउने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्षित गरी रंग लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउनेमाथि विशेष निगरानी बढाई कडाइका साथ कारबाही गरिएको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्