समाचार

सरकारी छाप कीर्ते गर्ने गिरोहका १२ जना पक्राउ

२ चैत्र २०७८, बुधबार ०९:५७
सरकारी छाप कीर्ते गर्ने गिरोहका १२ जना पक्राउ

२ चैत, काठमाडौं। प्रहरीले सरकारी छाप कीर्ते गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागमा कीर्ते सरकारी छाप प्रयोग गरी छिटो राहदानी बनाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा उनीहरूलाई मंगलवार साँझ पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट विशेष प्रहरी टोली परिचालित भई संलग्नहरूको पहिचान तथा खोजतलास गर्ने क्रममा नियन्त्रणमा केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रोल्पा माडी–१ घर भई हाल गोंगबु, मिलन टोल बस्ने वर्ष २९ को अमृत थापा, रोल्पा माडी–४ घर भई हाल गोंगबु, मिलन टोल बस्ने वर्ष २४ को प्रज्वल खड्का, बागलुङको बागलुङ–८ घर भई हाल सामाखुशी बस्ने वर्ष ३० को रञ्जित कार्की,  म्याग्दी बेनि–५ घर भई हाल मनमैजु, बालाजु बस्ने वर्ष ३३ को रामजी परियार, ललितपुर महांकाल–३ घर भई हाल गोंगबु, नयाँ बसपार्क बस्ने वर्ष ३६ की गोमा बजगाई, पाल्पा पूर्वखोला–५ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष ३३ को जीवनकुमार श्रेष्ठ, रामेछाप गागल–८ घर भई हाल गौशाला बस्ने वर्ष ३७ को मिठे मगर रहेका छन्  ।

त्यस्तै  ललितपुर महाकाल–२ घर भई हाल मानिखेल बस्ने वर्ष रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी–४ घर भई हाल माछापोखरी बस्ने वर्ष २५ सन्दीप मैनाली, सिन्धुली दुधौली–६ घर भई हाल धुम्बाराही पिपलबोट बस्ने वर्ष २१ को अभिषेक मगर, दैलेख आठबीस–३ घर भई हाल सिनामङ्गल बस्ने वर्ष २२ को निरञ्‍जन तिवारी, धादिङ थाक्रे–४ घर भई हाल कलंकी बस्ने वर्ष २४ को मदन तामाङ् रहेका छन् ।

उनीहरूको साथबाट १४ वटा मोबाइल, सरकारी एवं निजी छाप १० वटा, कन्सुलर विभागको छाप एउटा,  राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको छाप एक/एक वटा बरामद भएको छ। यस्तै, पुलिस क्लियरेन्स सर्टिफिकेट ३ थान, कोरोना खोप प्रमाणपत्र एक थान, ईपासपोर्ट फारम ५ थान, देवल माध्यमिक विद्यालय, डडेलधुराको छाप एक थानसहित अन्य विभिन् छाप बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्