समाचार

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’

२ चैत्र २०७८, बुधबार ०२:३३
‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’

२ चैत, काभ्रे।नेपाली कांग्रेस काभ्रेले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ लिएर गाउँगाउँमा पुगेको छ। आसन्न निर्वाचनलक्षित यस अभियानअन्तर्गत यहाँका १३ स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना बनाएको जनाइएको छ।

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छ । सबै क्षेत्रमा एकैसाथ अभियान सञ्चालन गरिएको उपसभापति रमेशप्रसाद हुमागाईँले बताए । उनका अनुसार जिल्ला, सबै क्षेत्र तथा स्थानीय तहको पार्टी समितिका पदाधिकारी तथा सदस्य वडास्तरमा गई काँग्रेसबाट स्थानीयवासीले चाहेको विषय, अप्ठ्यारा र वर्तमान स्थानीय तहको नेतृत्वले गरेको गतिविधिमा उनीहरुको धारणाका बारे घरघरमा गएर जानकारी लिने तथा काँग्रेसका उम्मेदवारलाई मत हाल्न प्रेरित गरिनेछ । “अभियानमा एमसिसीबारे भ्रम चिर्ने गतिविधि पनि गरिन्छ”, उनले भने।

अभियानको आइतबार काँग्रेस  प्रवक्ता डा प्रकाशसरण महतले बनेपामा एक कार्यक्रमकाबीच शुभारम्भ गरेका थिए । अभियानअन्तर्गत शुभेच्छुक संस्था गठन तथा बस्ती र क्षेत्रको केन्द्र हुने गरी सरोकारवालासँग अन्तक्र्रिया र छलफल कार्यक्रमसमेत गरिने जनाइएको छ ।

साथै अभियानमा जनजागरण कार्यक्रम सञ्चालन तथा सङ्गठनलाई जनस्तरसम्म पु¥याउने विशेष लक्ष्य रहेको बताइन्छ । अभियानका लागि पार्टी केन्द्रीय कार्यालयले केन्द्रीय सदस्य उर्मिला केसीलाई काभ्रे खटाएको छ ।

पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउन यसअघि फागुन पहिलो साता एकहप्ते अभियानमार्फत वडास्तरमा विभिन्न भातृ–शुभेच्छुक समिति गठन गरेको थियो । गत फागुन १ गतेदेखि सञ्चालित सङ्गठन विस्तार अभियानअन्तर्गत महिला, तरुण, विद्यार्थी, दलित, किसान सङ्घ तथा टोल कार्यसमिति गठन भएको जनाइएको छ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन् ।

पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत गत असोज पहिलो साता वडा अधिवेशन, दोस्रो साता स्थानीय तह अधिवेशन, मङ्सिर पहिलो साता प्रदेश क्षेत्रीय अधिवेशन र दोस्रो साता प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशन सम्पन्न भएको थियो । जिल्लामा पार्टीका करिब २० हजार क्रियाशील सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्