समाचार

जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, २४ जना घाइते

३० फाल्गुन २०७८, सोमबार ०६:३६
जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, २४ जना घाइते

३० फागुन, सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रीत भएर पल्टिंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बाढीगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गरेको जन्ती बोकेको ना ३ ख ७४९० नम्बरको टिपर सिर्थौली नजिकै ठाकुरखोला पुलमा दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमार र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी विमलराज कँडेलले जानकारी दिए । बेहुला–बेहुली भने छुट्टै गाडीमा भएकाले दुर्घटनाबाट जोगिएका छन् ।

घाइतेमध्ये ७ जनालाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल, ४ जनालाई काठमाडौं, एक जना कटारीको सगरमाथा अस्पताल, दुई जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । १० जना भने सामान्य उपचारपछि घर फर्किएका छन् । दुर्घटनाको कारणबारे छानबिन भइरहेको एसपी विमलराज कँडेलले जनाए ।

प्रतिक्रिया दिनुहोस्