समाचार

माओवादी सांसदले पार्टी छाडे, काँग्रेस नेताको ग्रुपै भित्रियो

२७ फाल्गुन २०७८, शुक्रबार १६:१०
माओवादी सांसदले पार्टी छाडे, काँग्रेस नेताको ग्रुपै भित्रियो

२७ फागुन, काठमाडौं ।  कर्णाली प्रदेशसभा सदस्य ठम्मर बहादुर विष्टले पदबाट राजीनामा दिएका छन्।

आजै माओवादी केन्द्रका एक जना पुराना नेताले पार्टी परित्याग गर्दा काँग्रेसको एक समूह भने माओवादी प्रवेश गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा काँग्रेसका जिल्लास्तरीय नेताहरुलाई पार्टीमा प्रवेश गराइरहेकै बेला यता काठमाडौंमा माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले भने पार्टी छाडेको घोषणा गरे ।

शुक्रबार काठमाण्डौँमा पत्रकारसँग भेटघाट गरेर विष्टले राजीनामा गरेको घोषणा गरेका हुन्  ।  उनले भने, ‘कर्णालीका सभामुखलाई प्रदेशसभा सचिवालयमार्फत राजीनामा पत्र पठाइसकेको छ ।’

पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको उनले आरोप लगाए । कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको पनि विष्टले प्रष्ट्याए । यता, जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानीप्रसाद आचार्यलगायत १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्