समाचार

आज विश्व मिर्गौला दिवस : मिर्गाैला स्वस्थ राख्न के गर्ने ?

२६ फाल्गुन २०७८, बिहीबार ००:४३
आज विश्व मिर्गौला दिवस : मिर्गाैला स्वस्थ राख्न के गर्ने ?

२६ फागुन, काठमाडौं । बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थालेको ८ वर्ष बितिसक्यो । अहिलेसम्म उनको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन ।

तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्ने तयारी गरे तर उनलाई मधुमेह लगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन सकेन । विगत ८ वर्षदेखि डायलासिस गराइरहेकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे पनि मिलेन । अहिले तुलसी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहेकी छन् । ‘नियमित डायलासिस धेरै बोझको जिन्दगी हो,’ तुलसीले भनिन्, ‘हप्तामा २ देखि ३ पटकसम्म डायलासिस नगराइ बाँच्नै सकिँदैन ।’

तुलसीको डायलासिस हप्तामा ३ पटक गर्नुपर्छ । हाल केन्द्रमा २५ जनाले हप्तामा ३ पटकसम्म नियमित डायलासिस गराइरहेका छन् । एक पटक डायलासिस गर्नलाई ४ देखि ५ घण्टासम्म लाग्दछ ।

रुकुमकी सुनकुमारी श्रीपालीको कथा भिन्नै छ । उनको मिर्गौलाले काम नगर्ने पुष्टि २०६८ सालमा भएको थियो । त्यसपछि नियमित डायलासिसमा रहेकी श्रीपालीको २०७१ माघमा शिक्षण अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

जेठी छोरी विजयाले उनलाई मिर्गौला दान गरेकी थिइन् तर मिर्गौला प्रत्यारोपण गरेको २४ घण्टा पनि टिकेन । उनको शरीरले मिर्गौला रिजेक्ट गरेपछि २ महिनासम्म शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भयो । पुनः मिर्गौला डायलासिस गराउनुपर्ने भयो ।

गत कात्तिक २९ गते भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला पुनः प्रत्यारोपण भयो ।

अहिले श्रीपालीको परिवार आनन्दसँंग बस्न सकेको छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला रोग लाग्नै नदिनका लागि समय–समयमा मिर्गौला परीक्षण गर्नुपर्ने बताए । उनले कम्तीमा वर्षमा १ पटक पिसाबको परीक्षण गर्दा मिर्गौला रोगबारे थाहा हुने जानकारी दिँदै एक पटक पिसाबको क्रिटिनाइन परीक्षण गर्न सुझाव दिए ।

उनले खानपान, रहनसहन, उच्च रक्तचाप, मधुमेह लगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मिर्गौला रोगी बढेको बताए । मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले मिर्गौला बचाउनका लागि बिहान उठेर एक गिलास पानी पिउन सुझाव दिए । उनले निश्चित समयभित्र मिर्गौला परीक्षण गर्न पनि सुझाव दिए । डा. काफ्लेका अनुसार नेपालमा प्रत्येक १० जनामध्ये १ जना व्यक्तिलाई मिर्गौलासम्बन्धी दीर्घकालीन रोग लाग्ने गरेको छ । नेपालमा वीर अस्पतालबाट सन् १९९८ बाट पहिलो पटक हेमोडायलासिस सेवा शुरू भएको थियो ।

बिहीवार विश्व मिर्गौला दिवस मनाइँदैछ । सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन लागिएको हो । यो वर्ष ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ मनाउन लागिएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्