समाचार

युक्रेन छाड्नेको लड़को

२४ फाल्गुन २०७८, मंगलवार ११:१७
युक्रेन छाड्नेको लड़को

२४ फागुन, एजेन्सी ।  रुसी आक्रमणमा परेको युक्रेनबाट बाहिरिनेहरुको संख्या मंगलबारसम्म २० लाख पुगेको राष्ट्रसंघले जानकारी गराएको छ।

शरणार्थीहरुका लागि राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीका अनुसार यो दोस्रो विश्वयुद्धपछि युरोपमा एकैपटक सबैभन्दा ठूलो संख्यामा देखिएका शरणार्थीहरु हुन्।

बिबिसीका अनुसार ठूलो संख्यामा शरणार्थीहरु छिमेकी मुलुक पोल्यान्ड पुगेका छन्। पोलिस अधिकारीहरुले भने शरणार्थीहरुका लागि युरोपेली युनियनले दिएको रकम अपुग भएको बताएका छन्।

पोल्यान्डका सहायक विदेशमन्त्री पाबेल ज्याब्लोन्स्कीका अनुसार युरोपेली युनियनले युक्रेनी शरणार्थीहरुलाई मद्दत गर्न ५०० मिलियन युरो दिए पनि त्यो अपुग भएको बताएका हुन्। युक्रेनबाट बाहिरिने २० लाख शरणार्थीहरुमध्ये १२ लाख पोल्यान्ड पुगेका छन्। उता युक्रेनको राजधानी किभभन्दा पश्चिममा रहेको सहर इर्पिनबाट पनि बासिन्दाहरुलाई निकाल्न थालिएको छ।

इर्पिनमा रुसले लगातार ६ घन्टासम्म नागरिकहरुलाई लक्षित गर्दै गरेको बम आक्रमणले युद्धका सामान्य सिद्धान्तसमेत भुलेको भन्दै आलोचना गरिएको छ। हुमन राइट्स वाच (एचआरडब्लु)को विश्लेषणअनुसार इर्पिनमा रुसी सेनाले आइतबार गरेको आक्रमणमा युद्धका नियमको अवज्ञा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्