समाचार

पचाल झरनामा पदमार्ग बन्दै

२७ कार्तिक २०७८, शनिबार १६:०६
पचाल झरनामा पदमार्ग बन्दै

२७ कार्तिक, कालीकोट। कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको पचालझरना जानका लागि रु तीन करोड ३१ लाखको लागतमा पदमार्ग बनाइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा सो पदमार्ग बन्न लागेको हो । नेपालकै ३८१ मिटर अग्लो उक्त झरनासम्म जानका लागि पदमार्ग बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए ।

यही कात्तिक ३० गते पदमार्ग शिलान्यास गरिने कार्यक्रम रहेको छ । पदमार्ग निर्माण भए पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुनेछ । मन्त्रालयले नयाँ १०० पर्यटकीय गन्तव्यमा पचालझरनालाई पनि सूचीकृत गरेको छ ।

यस झरनाको लम्बाइ ३८१ मिटर भएको बताइए पनि प्राविधिक जाँच भने गरिएको छैन । विसं २०७४ मा उक्त गाउँपालिकाले दुई दिन लगाएर पचालझरनाको उचाइ मापन गर्दा ३८१ मिटर रहेको गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले बताए ।

पचालझरनाको अध्ययन गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी र अन्उ सङ्घसंस्थाको संग्लनता हामीले गत वर्ष उचाइ मापन गरेका हौँ । जिपिएस र अन्य विधिबाट उचाइ मापन गरेका थियौँ ।

यो झरना नेपालकै सबैभन्दा अग्लो भएको गाउँपालिका अध्यक्ष सेजुवालले बताए । पचालझरनाको वास्तविक उचाइ ३८१ मिटर रहेको र यसभन्दा अघि नेपालकै अग्लो झरना मानिएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र रहेको उनको जिकिर थियो । रासस

प्रतिक्रिया दिनुहोस्