समाचार

महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने

२२ फाल्गुन २०७८, आईतवार ०८:५६
महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने

२२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन दलहरुबीच सहमति भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज आइतवार बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिमा महाअभियाेग प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न ११ सदस्यीय सिफारिस समिति गठन गर्ने सहमति भएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

सत्तारुढ गठबन्धनका ९८ सांसदले १ फागुनमा जबराविरुद्ध महाअभियोग दर्ता गरेका थिए । यो प्रस्तावमाथि संसदमा सामान्य छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ ।

संसद्‌मा विरोध गर्दै आएको नेकपा (एमाले) ले पनि महाअभियोग सिफारिश समितिमा सांसद पठाउने भएको छ। संसदीय समितिमा भाग लिइरहेकाले सिफारिश समितिका लागि पनि सांसदको नाम पठाउने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्