समाचार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

१५ फाल्गुन २०७८, आईतवार ०५:२८
बालुवाटारमा सत्ता गठबन्धनको बैठक

१५ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको आजको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँचदलीय गठबन्धनका नेताहरूको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संसद बैठकअघि नै एमसीसीबारे अन्तिम निर्णय गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ। बैठकमा सहभागी हुन सत्तारुढ दलका नेताहरु बालुवाटार पुग्न थालेका छन्।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि, बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । त्यस बैठकले संसद्को कार्यसूची तय गर्नेछ ।

कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाक्रीलगायतका दोस्रो तहका नेताले घोषणा तयार गरिरहेका छन्।

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा मतदान गर्न सहमत नभएमा गठबन्धन टुट्ने र एमालेसँग सहकार्य हुनसक्ने नेपाली कांग्रेसका नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्