समाचार

सिद्धिनहर मर्मत सुरु, चाँडै पानी पाउनेमा किसान आशावादी

९ मंसिर २०७८, बिहीबार ०३:४०
सिद्धिनहर मर्मत सुरु, चाँडै पानी पाउनेमा किसान आशावादी

झापा: पहिराले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत सुरु भएपछि बाहुनडाँगीवासी उत्साहित बनेका छन् ।

मेचीनगर नगरपालिकाका वडा नं १, २, ३ र ४ का एक हजार ७०० हेक्टर जमिन सिँचाइ गर्ने सिद्धिनहर पहिराले गत वर्ष बगाएको थियो ।

प्रदेश नं १ सरकारको रु ५० लाख र सङ्घीय सरकारको रु १० लाखको आर्थिक सहयोगमा नहरको मर्मत सुरु गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख कृष्ण राजवंशीले नहरका कर्मचारी, सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका सदस्य र स्थानीय सरकारसमेतको सहभागितामा मर्मत सुरु गरिएको बताए । नहर बनेसँगै बाहुनडाँगी क्षेत्रका किसानले सिँचाइ सुविधा प्राप्त गर्नेछन् ।

पानी अभावमा सुक्न थालेको सुपारी मरिच, चिया खेतीलगायत अन्य नगदेबालीलाई समेत राहत पुग्ने भएको छ । सोही क्षेत्रको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ ।

पहाडको अकरिलो स्थान हुँदै मुहान थापेर ल्याइएको नहर सोही वडाको गाईमारा खोला र दुधे खोला छेउमा पहिराले क्षति पुर्याएको थियो । उनले जिल्लाका अन्य नहरको तुलनामा अत्यन्तै अप्ठ्यारो स्थानबाट पानी ल्याइएको हुँदा प्रत्येक वर्षको बाढी पहिरोले क्षति पुर्याउने गरेको बताए ।

पानीको मुहान पहाडको फेदीमा छ, मुहानबाट उपभोक्ताको खेतबारीसम्म पानी ल्याउन भीरबाटै नहर खनिएको छ, अर्को विकल्प पनि छैन, यसको मर्मतमा मात्र बर्सेनि लाखौँ खर्च हुने गरेको छ । उनले अहिले फेरिएको नहरको माटो हटाउनसमेत समस्या भइरहेको बताए ।

अप्ठ्यारो स्थान र माटोसमेत फ्याँक्ने ठाउँको अभावमा दुःखले काम गरिरहेको उनले सुनाए । सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीको विशेष पहलमा नहरको मर्मत सुरु गरिएको हो नेपाल सरकारले सो नहर स्थापनामा रु ४४ करोड लगानी गरेको थियो ।

निर्माणको पाँच वर्षमा मात्र लाखौँ रकम मर्मतमै खर्च भइरहेको छ । यसअघि मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सभा सदस्य र सङ्घीय सांसदलाई समेत सो क्षेत्रको निरीक्षण गराई बजेटका लागि पहल गरिदिन समितिका अध्यक्ष तिवारीले पहल गरेका छन् ।

सिद्धिनहर बिग्रिएको र सिँचाइको वैकल्पिक व्यवस्थासमेत नहुँदा समस्यमा परेका स्थानीय किसानले एक महिनाभित्रमा पानी पाउने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्