समाचार

एमसीसीबारे जसपा बैठक अनिर्णीत

१४ फाल्गुन २०७८, शनिबार १५:०५
एमसीसीबारे जसपा बैठक अनिर्णीत

१४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले अमेरिकी सहयोग परियोजना एमसिसीबारे शनिबारसम्म आफ्नो आधिकारिक धारणा बनाउने भएको छ ।

शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसीबारे निर्णय गर्ने भनिए पनि कुनै निर्णय गर्न सकेको छैन। निष्कर्ष बिनै सकिएको बैठक आइतबार पनि बस्नेछ। शुक्रबारदेखि बैठक जारी छ। आइतबार बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेता अशोक राईबीच छलफल हुने बताइएको छ।

एक नेताका अनुसार शनिबारको बैठकमा डा. भट्टराई पक्षधरले यादवको चर्को आलोचना गरेको थियो । यादवले एकलौटी पार्टी सञ्चालन गरेको, संगठन सुस्त बनाएको, एमसीसीमा मौन बसेको भन्दै उनीहरूले तीव्र असन्तुष्टि पोखेका थिए ।

शुक्रबारको बैठकमा एजेन्डा र स्थानीय निर्वाचन र पार्टी दर्ताको विषयमा मात्र छलफल भएको जसपा कार्यकारिणी इस्तियाक राईले जानकारी दिए । ‘बैठकमा धेरै छलफल भएन । एजेन्डा र स्थानीय तह निर्वाचनका लागि पार्टी दर्ताको विषयमा मात्र प्रवेश गरेका छौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्