समाचार

एमसीसीबारे माओवादीको अडान कायमै

१३ फाल्गुन २०७८, शुक्रबार ०७:५७
एमसीसीबारे माओवादीको अडान कायमै

१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको हाई कमाण्ड बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले यथास्थितिमा एमसिसी पारित नगर्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गराउनेगरि तयारी थालेका छन् । उनले सकेसम्म आफू सत्ता गठबन्धनकै सहयोगमा एमसीसी पास गराउने पक्षमा रहेको बताउँदै आएका छन् । तर, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चा एमसीसीको विपक्षमा उभिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारमा रहने नरहनेबारे निर्णय गर्न दबाब दिए पनि माओवादी केन्द्रले आफ्ना मन्त्रीहरूबारे कुनै निर्णय भने गरेन। माओवादी केन्द्रले अन्तिम पटक गठबन्धन बैठक राखेर पार्टीको अडान राख्ने एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस्