समाचार

एमसिसीको विपक्षमा मतदान र सरकारमै रहिरहने प्रचण्डको प्रस्ताव, प्रधानमन्त्रीको अस्वीकार

१२ फाल्गुन २०७८, बिहीबार १०:२३
एमसिसीको विपक्षमा मतदान र सरकारमै रहिरहने प्रचण्डको प्रस्ताव, प्रधानमन्त्रीको अस्वीकार

१२ फगुन, काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका छन् ।

बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको छलफलमा प्रचण्डले माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरे । तर, यसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटवार्तामा दाहालले एमसीसीको विपक्षमा आफ्नो पार्टीले भोट हाल्ने जानकारी गराएका थिए । सरकारमा रहेर सरकारकै प्रस्तावको विपक्षमा मतदान गर्न नमिल्ने भन्दै उनले एमसिसीको पक्षमा मतदान गर्न आग्रह गरे । एमसिसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्न नसक्ने प्रचण्डको जिकिरपछि प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका मन्त्रीलाई राजीनामा दिन लगाउन प्रचण्डलाई भनेका छन् ।

उता, माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको विपक्षमा मतदान गर्ने बताईसकेका छन् । ‘हाम्रो पार्टीले आजको संसद् बैठक बहिष्कार गर्दैन, तर एमसीसी संसदमा निर्णयार्थ पेस भएमा विपक्षमा मतदान गर्नेछ,’ श्रेष्ठले भने, ‘एमसीसी संसदबाट पास हुने देखियो ।’

प्रतिक्रिया दिनुहोस्