राजनीति

एमसीसी पारितमा सहयोग गर्न देउवाको आग्रह, ओलीले राखे सभामुख हटाउनुपर्ने शर्त

१० फाल्गुन २०७८, मंगलवार १५:३६
एमसीसी पारितमा सहयोग गर्न देउवाको आग्रह, ओलीले राखे सभामुख हटाउनुपर्ने शर्त

१० फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई संसद्‌मा टेबल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न सघाउन आग्रह गरेका छन्।

मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीसहितका नेताहरु करिब २ घण्टाको बसाइपछि बाहिरिएका हुन् । अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल वार्तामा सहभागी थिए ।

‘भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गरे’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, – ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।

सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले संघीय संसद्को सबैभन्दा ठूलो दल एमालेलाई गुहारेको हो।

प्रतिक्रिया दिनुहोस्