समाचार

राष्ट्रघाती र राष्ट्रवादीहरू सँगै कुम जोडेर उभिन सुहाउँदैन : थापा

१० फाल्गुन २०७८, मंगलवार १०:२३
राष्ट्रघाती र राष्ट्रवादीहरू सँगै कुम जोडेर उभिन सुहाउँदैन : थापा

१० फागुन, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले संसदमा टेबुल गरेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विपक्षमा मतदान गरेर गठबन्धनमा बसिरहने कुरा अनैतिक हुने बताएका छन् ।

उनले सरकारले एमसीसी सम्झौता संसद्‍मा टेबल गरिसकेको भन्दै सरकारले ल्याएको प्रस्ताव पास गर्नु गठबन्धन दलहरूको दायित्व बन्ने बताए ।

चितवनमा भएको एक कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु ‘अनैतिक र अव्यवहारिक’ हुने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले अहिले एमसीसीको विपक्षमा मतदान गर्नुअघि सरकारको नेतृत्वमा रहँदा हामीबाट पाप भयो भनेर स्वीकार्नु पर्ने उनको तर्क छ ।

‘जहाँसम्म गठबन्धन सरकारले ल्याएको प्रस्ताव छ, गठबन्धनमा सहभागी भएर त्यही गठबन्धन सरकारले ल्याएको प्रस्तावको खिलाफमा मतदान गरिसकेपछि, हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौं बाँकी विषयमा सँगसँगै जान्छौँ भन्ने कुरा अनैतिक र अराजनीतिक पनि हुन्छ,’ महामन्त्री थापाले भने, ‘नेपाल सरकारले गरेको सन्धिको खिलाफमा गर्छौं, त्यो दिन पेट दुखेकोले संसदमा नआएकोले भोलिदेखि आउँछौं भन्ने जस्तो नमिल्ने कुरा केही हुँदैन । कि यसको पक्षमा मतदान गरेर सँगै बसौँ, फरक–फरक ठाउँमा मतदान गर्ने भए सँगै बस्न सकिँदैन, सँगै बस्न हुँदैन भन्ने कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्