८ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीलाई लिएर भइरहेको विरोध प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका छन् ।
उनले प्रदर्शनको क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। ‘एमसिसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ आफ्नो फेसबुक पेजमा प्रचण्डले लेखेका छन्,’ विवाद र विरोधका बीच सरकारले एमसिसी टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसिसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।
आज संसदमा एमसिसी टेबुल भएको छ। एमसिसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलका भ्रातृ संगठनहरू प्रदर्शनमा छन्। एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरी रबरको गोली चलाएको थियो।