समाचार

सत्ता गठबन्धनको निर्णय: एमसीसी संसदमा आजै पेस हुने

८ फाल्गुन २०७८, आईतवार ०६:०३
सत्ता गठबन्धनको निर्णय: एमसीसी संसदमा आजै पेस हुने

८ फागुन, काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‍मा टेबल गर्ने सहमति जुटेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए । बैठकमा तत्काल सत्ता गठबन्धन नै टुट्ने गरी उत्पन्न समस्या टार्ने गरी नेताहरु एमसीसी टेबल गर्न सहमत भएका हुन् ।

एमसीसी सम्झौतामा सहमति जुटेसँगै आज बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ । संसद् बैठक दिउँसो १ बजे बस्ने छ । संसद् बैठक अघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।

नेपालका अनुसार एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ । ‘एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेको छ । त्यसलाई सदनमा पेस गर्ने सहमति जुटेको छ ‘, उनले भने ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै अनुमोदन हुनुपर्ने पक्षमा छ । गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमति नजुटाइ एमसीसी पास गर्न नहुने अडानमा छ । उसले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्