समाचार

एमसीसी नेपाललाई अमेरिकी जनताको उपहार हो- अमेरिका

७ फाल्गुन २०७८, शनिबार १५:१८
एमसीसी नेपाललाई अमेरिकी जनताको उपहार हो- अमेरिका

७ फागुन, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले शनिबार साँझ विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन गर्ने वा नगर्ने निर्णय सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रुपमा नेपालले मात्रै गर्न सक्ने स्पष्ट पारेको हो।

नेपाल र अमेरिकाबीचको यो साझेदारीले नेपालमा रोजगारी र पूर्वाधार विकासमा सहयोग पुग्ने र नेपालीहरूको जीवनस्तरमा सुधार हुने पनि दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

यो वर्ष नेपाल र अमेरिकाबीच कुटनीतिक सम्वन्धको ७५ औं वर्ष भएको स्मरण गराउँदै दूतावासले अमेरिका सदैब नेपालको साथमा रहेको र विकास सहायता, विपद् प्रतिकार्य, स्वास्थ्य, शिक्षालगायतमा सहयोग गरेको बताएको छ। एमसीसीले नेपाली जनताको जीवन सुधार गर्न, रोजगारी सिर्जना गर्न र पूर्वाधार विकाशमा सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्