समाचार

निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगे मतदान गर्न पाईने

५ फाल्गुन २०७८, बिहीबार ०४:३३
निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगे मतदान गर्न पाईने

५ फागुन, काठमाडौं। आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका नागरिकले पनि मतदान गर्न पाउने भएका छन् ।

निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने व्यवस्था गरेको नेपालको निर्वाचनको इतिहासमा पहिलोपटक रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

आयोगले यसपटकको आसन्न स्थानीय तहको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २०७९ साल वैशाख २९ गतेलाई आधार मान्ने गरी निर्दिष्ट मिति ‘कट अफ डेट’ निर्धारण गरेको छ । विगतमा निर्वाचनको मिति घोषणा गरेको दिनसम्म १८ वर्ष पुग्नेले मात्र मतदान गर्न पाउने स्थिति थियो ।

आयोगले १६ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकता प्राप्त गर्ने नागरिकको मतदाता नामावलीमा नाम संकलन गर्दै आएको छ । यसरी नाम संकलन गरिएका मध्ये निर्वाचनको मिति घोषणा गरिएको दिनमा १८ वर्ष पुग्नेले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको थियो ।

यसलाई निरन्तरता दिँदा करिब दुई लाख युवा मतदान गर्नबाट वञ्चित हुने स्थिति देखिएको थियो । यसले गर्दा ‘कट अफ डेट’ निर्धारणमा नयाँ व्यवस्था गरिएको आयोगले जनाएको छ ।

१८ वर्ष उमेर पूरा गरेको नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरी मतदाता हुन पाउने अधिकारको सुनिश्चिता मतदाता नामावली सम्बन्धी ऐन, २०७३ मा गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्