समाचार

आगलागीमा सात जनाको मृत्यु

३ फाल्गुन २०७८, मंगलवार ०२:४३
आगलागीमा सात जनाको मृत्यु

३ फागुन, काठमाडौं । दक्षिण–पश्चिमी फ्रान्समा एक शक्तिशाली विस्फोटनपछि सुरु भएको आगलागीमा परी दुईजना बालबालिकासहित कम्तीमा सातजनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान १ बजेर ३० मिनेट जाँदा भएको सो विस्फोटनका कारण सेन्ट लरेन्ट–डी–ला–सालन्क्युको एउटा सडकको दुवैतिर रहेका थुप्रै घरमा आगो लागेको थियो ।

आगलागीबाट क्षतिग्रस्त दुईवटा फ्ल्याटको भग्नावशेषमा  अग्निनियन्त्रकहरूले अझै मानिसको खोजी गरिरहेका छन् । विस्फोटनको कारण थाहा हुन सकेको छैन । घटनास्थल पुगेका फ्रान्सका आन्तरिक मामिलामन्त्री जेराल्ड डार्मानिनले जीवित व्यक्तिहरूको खोजीका लागि आपत्कालीन सेवा जारी रहेको बताएका छन् । साथै, उनले यो दुर्घटना मात्रै हो वा अपराधिक कार्य हो भन्ने सप्ष्ट भइनसकेको पनि बताएका छन् ।

स्थानीय बासिन्दाले विशाल आगोको लप्का देखिनुअघि ठूलो विस्फोटनको आवाज सुनेको बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार करिब २० जना घाइते भएका छन् ।आगोबाट बच्न अत्तालिँदै दुई तलाको झ्यालबाट हामफालेका करिब ३० वर्षीय एक पुरुषलाई चिन्ताजनक अवस्थामा अस्पताल लगिएको छ । बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्