समाचार

कांग्रेस बैठकमा आज १६ नेताले राखे धारणा

१ फाल्गुन २०७८, आईतवार १६:०२
कांग्रेस बैठकमा आज १६ नेताले राखे धारणा

१ फागुन,काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार पुन बस्ने भएको छ । माघ २७ गतेदेखि सुरु बैठकमा नेताहरुले बोल्नेक्रम जारी रहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा माघ २८ गतेदेखि जारी आज बसेको बैठक फागुन ३ गते पुनः बस्ने गरी सकिएको हो । बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था, अमेरिकी सहयोग एमसीसी, हुन बाँकी जिल्ला अधिवेशन सम्पन्न गर्ने सम्बन्धमा तथा स्थानीय निकायको आसन्न निर्वाचनलगायत विषयमा सदस्यले आआफ्नो धारणा राख्नुभएको बैठकमा सहभागी पार्टीकी केन्द्रीय सदस्य एवं महिला, बालबालिका एवं ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

बैठकमा एमसीसी, सत्ता गठबन्धन, अधिवेशन, भ्रातृ संस्थाहरुको अधिवेशन लगायका विषयमा छलफल भइरहेको छ । आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार र सदस्यहरु—विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एनपी साउदले आ–आफ्नो धारणा राखेका थिए ।

माघ २७ गतेदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक फागुन ३ गते मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्