समाचार

त्रिविले फागुन १ बाट भौतिक उपस्थितिमा कक्षा र परीक्षा सञ्चालन गर्ने

२७ माघ २०७८, बिहीबार १६:१५
त्रिविले फागुन १ बाट भौतिक उपस्थितिमा कक्षा र परीक्षा सञ्चालन गर्ने

२७ माघ, काठमाडौँ ।त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग तथा स्कुलहरूलाई स्थानीय निकायसँग समन्वय गरी स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालनको व्यवस्था गर्न र सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्ने निर्णय गरिएको हो ।

बिहीबार एक सूचना जारी गरेर त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा गर्न भनेको छ ।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि त्रिविका कक्षाहरू अनलाइनमा पठनपाठन हुँदै आएको थियो । संक्रमणदर घटेसँगै पठनपाठन, परिक्षा लगायत कार्यालयका सम्पूर्ण कामहरू भौतिक उपस्थितिमा नै सञ्चालन गर्ने भएको निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्