समाचार

चार महिनामा १५ हजार सवारी चालकलाई कारबाही

८ मंसिर २०७८, बुधबार ०६:०७
चार महिनामा १५ हजार सवारी चालकलाई कारबाही

तनहुँ: जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियमविपरीत सवारीसाधन चलाउँदा कारबाही गर्दा रु एक करोड एक लाख ६४ हजार राजश्व सङ्कलन भएको छ ।

कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २७ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै ४० घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक डोलिन्द्रबहादुर हमालले जानकारी दिए ।

पृथ्वी राजमार्गमा सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न तीव्रगति नियन्त्रण गर्नका लागि गत असोज ३ गतेदेखि राडरगनको प्रयोग गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि विभिन्न स्थानमा १४४ थान ट्राफिक कोण, ट्राफिक सङ्केत र होडिङबोर्ड राखिएको छ ।

सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी ४३ कक्षा सञ्चालन गर्दा सात हजार ६४० जना लाभान्वित भएका छन् । चालु आवमा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ९३ पटक गरी १६ हजार ७१५ थान पर्चा पम्प्लेट वितरण गरिएको हमालले बताए ।

‘चालकसँग एक मिनेट’ कार्यक्रमअन्तर्गत चालु आवमा २७६ पटक कार्यक्रम सञ्चालन गर्दा २३ हजार ८९७ चालक सहभागी थिए ।  रासस

प्रतिक्रिया दिनुहोस्