समाचार

मधेस प्रदेश : प्रदेशसभाको वार्षिकोत्सव स्थगित

२१ माघ २०७८, शुक्रबार १५:१६
मधेस प्रदेश : प्रदेशसभाको वार्षिकोत्सव स्थगित

२१ माघ, मधेश । मधेश प्रदेशको प्रदेशसभाको चौथो वार्षिकोत्सवको सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ ।

बिहीबार रातिदेखि नै मधेश प्रदेशका जिल्लाहरूमा चलेको हावाहुरी र वर्षाको कारणले कार्यक्रम गर्नका लागि बनाइएको टेन्टहरू उडाएको र कार्यक्रम गर्ने अवस्था नभएका हुँदा वार्षिकोत्सवको कार्यक्रम स्थगित भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

सभामुख यादवले मौसम प्रतिकूल भएपछि कार्यक्रम गर्ने अवस्था नभएका कारण वार्षिकोत्सवको कार्यक्रम स्थगित गर्नुपरेको बताए । उनले वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अतिरिक्त कार्यक्रममा सहभागी भएर विजयी भएका कर्मचारी तथा प्रदेशसभाका सदस्यहरूलाई पछि पुरस्कृत गर्ने जानकारी दिए।

प्रत्येक वर्ष प्रदेशसभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने एक जना प्रदेशसभाका सदस्यलाई रु ५० हजारसहित पुरस्कृत गर्ने गरिएको छ । शुक्रबार दिउँसो १ बजे प्रदेश प्रमुख हरिशङ्कर मिश्रको प्रमुख आतिथ्यमा उदघाटन गर्ने कार्यक्रम तय भएको थियो ।

चौथो वार्षिकोत्सवको अवसरमा यसअघि विभिन्न प्रकारका कार्यक्रम आयोजना भए पनि अन्तिम दिन भव्य कार्यक्रमसहित वार्षिकोत्सव मनाउने तय भए पनि अन्तिम क्षणमा आएर कार्यक्रम स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्