समाचार

एफएओद्वारा अपाङ्गता समावेशी कृषि प्रणाली प्रवर्द्धन सम्बन्धी कार्यक्रम सम्पन्न

२३ कार्तिक २०८२, शनिबार १३:३४
एफएओद्वारा अपाङ्गता समावेशी कृषि प्रणाली प्रवर्द्धन सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । खाद्य तथा कृषि सङ्गठन(एफएओ)द्वारा आयोजित “Promoting Disability Inclusive Agrifood System in Nepal” विषयक कार्यक्रम राजधानीस्थित होटेल एभरेस्ट, काठमाडौंमा सम्पन्न भएको छ।

कार्यक्रममा FAO का नेपालका देशीय प्रतिनिधि केन शिमिजु (Ken Shimizu) ले अपाङ्गता र समावेशी कृषि–खाद्य प्रणालीको अवधारणा, यसको आवश्यकता र नेपालमा यसका सम्भावनाबारे प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “नेपालको हावा–पानी, वातावरण र माटो कृषि उत्पादनका लागि अत्यन्त उपयुक्त छन्। यदि सरकार, कृषक र सरोकारवालाबीच सहकार्यको वातावरण बनाउन सकियो भने हामीले नेपालमै धेरै सम्भावनाहरू साकार गर्न सक्छौं।”

सिरहा जिल्लाकी रेनु यादवले अपाङ्गता भएर पनि व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएको आफ्नो अनुभव साझा गर्नुभयो। उहाँले भन्नुभयो, “भवानी कृषक समूहमार्फत ५०० वटा परियोजनाबाट सहयोग प्राप्त गर्दै उत्पादकता बढाउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छु।”

त्यस्तै बाके जिल्लाका सिप्रस (सायपत्री) फूलका किसान कर्ण बहादुर थापाले पनि आफ्नो व्यवसायिक यात्रा, सामना गर्नुपरेका चुनौतीहरू र प्राप्त उपलब्धिहरूका बारेमा अनुभव बाँडे।

कार्यक्रमको अर्को मुख्य आकर्षण “Identifying Actionable Entry Points for Inclusion” शीर्षकमा समूहगत छलफल थियो। सहभागीहरूलाई ६ वटा समूहमा विभाजन गरी, हरेक समूहले अपाङ्गता समावेशी कृषि प्रणालीमा अपनाउन सकिने व्यावहारिक उपायहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई कृषिमा समावेश गर्न सकिने सम्भावना, अवसर र नीतिगत सुधारका दिशाहरू पहिचान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्